महाशिवरात्रि पर्व : डेढ लाख बढीले पशुपतिनाथको दर्शन गरिसकेँ, तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार आज दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो ।
पशुपतिका चार ढोका तीन बजे नै खुल्यो
पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।
पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले बताए ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ ।
प्रतिक्रिया