शुक्रबार, चैत १६, २०८०

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मघर जाँदै, गाउँपालिकामा सार्वजनिक बिदा

नेपालखोज २०७६ फागुन ११ गते ८:२०

काठमाण्डौँ । आज फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार आज स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९ औँ जन्मदिन मनाउन जन्मघर आठराई जाने लागेका छन् ।

यसै अवसरमा प्रधानमन्त्री ओलीले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ ।

यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नेछन् । प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया