मंगलबार, वैशाख ४, २०८१

पुर्नकर्जा लिने बढे

नेपालखोज २०७६ फागुन ११ गते १८:०३

काठमाडौँ । सरकारले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढाएको पुर्नकर्जा कार्यक्रममा आकर्षण बढ्दै गएको पाइएको छ । आर्थिक समृद्धिको आधार तयार पार्न साना तथा मझौला कर्जालाई समेत जोड दिइएको तथा उत्पादनशील उद्योगको बढावाका लागि सरकारले लिएको नीतिलाई बैंक तथा वित्तीय संस्थालेसमेत आत्मसात गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म रु १९ अर्ब ७५ करोड बराबरको रकम पुनःकर्जामा गएको छ । पुनःकर्जा दिने बैंकलाई केन्द्रीय बैंकले व्याज सहुलियतसमेत दिएको छ । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले साधारण पुनःकर्जा रु १६ अर्ब ३५ करोड र निर्यात पुनःकर्जा रु एक अर्ब ४० करोड उपयोग भएको छ ।

यस्तै बैंकले भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनःकर्जाको बक्यौता गत पुस मसान्तमा रु एक अर्ब ७४ करोड रहेको छ । यस्तो कर्जा एक हजार ५९२ ऋणीले उपयोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै गत पुस मसान्तसम्म कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीले रु ४५ अर्ब आठ करोड कर्जा बक्यौता रहेको छ । सो कर्जाको अन्य शीर्षकअन्तर्गत तीन हजार १८७ ऋणीको रु एक अर्ब ९३ करोड कर्जा बक्यौता रहेको छ । त्यस्तै अन्तर–बैंक कारोवार चालू आवको छ महिनामा वाणिज्य बैंकबीच रु नौ खर्ब २६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाबीच रु ९१ अर्ब ४२ करोड बराबर भएको छ ।

प्रतिक्रिया