शुक्रबार, चैत १६, २०८०

वैशाखमा दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी : उत्कृष्ट कलाकृतिलाई पुरस्कृत गरिने

नेपालखोज २०७६ फागुन ११ गते १८:२०

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को स्थापना दिवसका अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ ।

प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १०औँ शृङ्खलाको ललितकला प्रदर्शनी हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनी तीन हप्तासम्म चल्ने नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिए । प्रदर्शनीमा ५०० कलाकृति सहभागी गराउने लक्ष्यअनुरूप चित्र सङ्कलन थालिएको उनले बताए ।

प्रदर्शनीका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र विधागत तयारीका लागि सात उपसमितिले काम थालेको प्रचारप्रसार उपसमितिका संयोजक सुष्माराज भण्डारीले बताए । प्रदर्शनीका क्रममा प्रदर्शनीमा सहभागी चित्रबाट विभिन्न विधाका उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने तथा कलालेखन र ललितकला पुरस्कार वितरण गरिने जनाइएको छ ।

प्रदर्शनीका लागि कलाकृति मगाइएको भए पनि नआइपुगेकाले यही फागुन २० गतेसम्मका लागि म्याद थपिएको नाफाले जानकारी दिएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न नाफाले पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७७ निर्माण गर्दैछ ।

प्रदर्शनीका क्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । परम्परागत चित्रकला र मूर्तिकला, आधुनिक चित्रकला र मूर्तिकला, हस्तकला÷शिल्पकला, लोककला, वास्तुकला तथा सिर्जनात्मक कला विधामा राष्ट्रिय र विशेष पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त विधाअन्तर्गत राष्ट्रिय पुरस्कारको राशि रु ६० हजार र विशेष पुरस्कारको राशि रु २५ हजार रहेको छ । राष्ट्रिय पुरस्कार आठ जनालाई र विशेष पुरस्कार १६ जनालाई प्रदान गरिनेछ ।

यस्तै रु २५÷२५ हजार राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारसमेत सोही क्रममा वितरण हुने कुलपति कर्माचार्यले जानकारी दिनुभयो । कलाका पाँच विधामध्ये सातै प्रदेशका सातै जना कलाकारलाई जनही रु २५ हजार राशिको पुरस्कार वितरण हुने जनाइएको छ ।

कला क्षेत्रमा विशिष्ट योगदान गरेबापत दुई जनालाई दिइने राष्ट्रिय अरनिको सम्मान घोषणा गर्न भने बाँकी रहेको जनाइएको छ । यसपटक ललितकला प्रदर्शनीमा रु ३५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको जनाइएको छ । प्रदर्शनीको तयारी तीव्ररूपमा भइरहेको नाफाले जनाएको छ । प्रदर्शनीका साथै कार्यक्रम अवधिमा आर्ट टक, आर्ट डेमोस्ट्रेसन, कला पुस्तक प्रदर्शनी, अन्तरक्रिया र कला कार्यशाला आयोजना गरिने भएको छ ।

प्रतिक्रिया