शुक्रबार, वैशाख ७, २०८१

सूर्यविनायक–जडिबुटी खण्डमा लेन अनुशासन कायम हुने

नेपालखोज २०७६ फागुन ११ गते १९:१४

काठमाण्डौ । उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सूर्यविनायक–जडिवुटी सडक खण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था फाल्गुन १४ गतेदेखि लागू गरिने भएको छ ।

पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभाबकारी बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सूर्यबिनायक जडीबुटी सडक खण्डको अनुगमन गरि तत्काल उक्त सडक खण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने सवारी साधन बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधनहरु दाहिने लेनबाट गुड्दा ट्राफिक व्यबस्थापन र दुर्घटना न्यूनिकरणमा उल्लेख्य सुधार हुन सक्ने भनि सुझाव पेश गरेको थियो ।

समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक बिभाग, यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानिय नागरिकहरु बीच समन्वय एव सहकार्य गरी लेन र जेव्राक्रसिङ मार्किङ्ग, फुटपाथ तथा आकाशेपुलको उचित प्रयोग, ट्राफिक लाईट सञ्चालन, बस विसौनी तथा यात्रु प्रतिक्षालयको प्रयोग, प्रविधिहरूको प्रयोगवाट ट्राफिक नियम पालना जस्ता ट्राफिक व्यबस्थापनका बिषयमा छलफल गरि तोकिएको लेनको प्रयोगलाई कार्यान्वयन गरिने भएकोछ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने लगायतका असाबधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अबस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने यो सडक व्यबस्थित र सुबिधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तराष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएकोछ ।

उक्त सडक खण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुदाँ यसको प्रभाबकारी कार्यान्वयनमा सघाउका लागी सम्बन्धित सरोकारवाला संघ संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि पुर्ब प्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक बिभाग भक्तपुरको प्रतिनिधी रहेको ६ सदस्य अनुगमन समिति गठन गरिएको छ ।

प्रतिक्रिया