शुक्रबार, वैशाख १४, २०८१

कुनै एक व्यक्तिलाई लक्षित गरेर संशोधन गर्नु गलत : कांग्रेस

नेपालखोज २०७६ फागुन ११ गते १९:२४

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान सहितको संविधान संशोधन गर्न कमिटी गठन गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न नहुने बताएको हो।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि कमिटी गठन गरेपछि कांग्रेसले विरोध गरेको हो।

मधेश, जनजाति, दलित, थारूलगायतले यसअघि संविधान संशोधनको माग गरे पनि तयार नदेखिएको नेकपा एक व्यक्तिका लागि संविधान संशोधनमा तयार देखिनु तमासा भएको उसको भनाइ छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन्।

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने हो भने संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधि सभा सदस्यजस्तै प्रधानमन्त्री हुन पाउने बाटो खुला गर्नुपर्ने बताउँदै आएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सचिवालय बैठकमा उक्त प्रस्ताव लगेका थिए।

प्रतिक्रिया