सोमबार, फागुन ५, २०८१

प्रधानमन्त्रीलाई पच्चीस बर्ष जेल सजायँ हुन सक्छ : वरिष्ठ अधिवक्ता भण्डारी

नेपालखोज २०७६ फागुन १२ गते १२:०६

काठमाडौं । २०७२ साल असोज ३ गते संविधान जारी गरे पश्चात नेपालकै तल्लो क्षेत्र खाद्यान्नको भण्डारका रुपमा रहेको तराई क्षेत्रका जनताको भावना नसमेटिएको भन्दै मधेश केन्द्रीत दलहरुले आन्दोलन मच्चाएका थिए । मधेश आन्दोलनका लागि छिमेकी राष्ट्रले अप्रत्यक्ष रुपमा सहयोग मात्र गरेर लामो समय नेपाल जनताहरुले नाकावन्दी नै खेप्नु परेको थियो । त्यसबेला राष्ट्रवादी नेताका रुपमा आफ्नो पहिचान बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधिले राष्ट्रवादको स्वाङ गर्ने नेताका रुपमा देखिएका छन् ।

Advertisement

सरकारको भक्तिगान मात्र गाईदिए हुन्थ्यो मिडियाले भन्ने सोचमा रहेका हाम्रा प्रधानमन्त्रीले मुटु नभएका सम्पादकहरुलाई विदेशी ह्वीस्कीले मुटु दरिलो पनि बनाई दिए । सायद अव मुटु नभएका ह्वीस्कीले दरिलो मुटु बन्दै गरेका सम्पादकहरुले आफ्ना सञ्चार माध्यममा प्रधानमन्त्रीले राष्ट्रवादका नाममा देशको नक्सालाई काटिएका समाचारहरु ‘स्किप’ गर्लान ?

हो, यतिखेर केन्द्रीकृत राज्य सत्तालाई फालेर नेपाली जनताले संघीयता ल्याए अर्थात सिङ्गो देशलाई सात वटा प्रदेशका रुपमा बाँडियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको शब्दमा भन्ने हो भने देश टुक्र्याइयो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसर पारेर उनको जन्मथलोमा नेपालको नक्सा अंकित केक काटिएको छ । केकमा देशको नक्सा बनाएर काटिनु कति राष्ट्रवाद देखियो ? हिजो मधेशमा राष्ट्रिय झण्डा परिवर्तन गर्नु पर्दछ भन्दै झण्डा जलाईइयो । भारतले लिपुलेक मिच्यो लिपुलेक लिम्पियाधुराको नक्सा कहाँ छ भनिरहँदा देशको प्रधानमन्त्रीको जन्मोत्सवको अवसरमा देशको नक्सा काटिनु कुन महोत्सव भित्र पर्दछ ? के यो देशको अपमान भएन ? राष्ट्रवादी आडम्वरमा फोस्रो नारा घन्काउनेहरु प्रधानमन्त्रीकै शब्दमा ‘अरिङ्गाल’ हरु कहाँ गए यतिखेर ।

प्रधानमन्त्रीले आज अमुक व्यापारीले उपलब्ध गराईदिएको देशको नक्सा अंकित केक काटे । भोली उपप्रधानमन्त्रीले केकमाथि मैनवत्तीको सट्टा राष्ट्रिय झण्डा राखेर सल्काउँलान् । ती सवैलाई स्वीकार गर्ने हो भने राष्ट्रवादको नारा छाडिदिए हुन्छ । मुलुक चलाईरहेको दुई तिहाईको सरकारले ऐन कानून विपरित काम गर्न पाउनु पर्दछ भन्ने हो भने फरक कुरा, अन्यथा यस्ता कार्य कदापी उचित होइन ।

सामाजिक सञ्जालमा अत्यधिक भाईरल बनिरहेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले काटेको केक । उनको यो कार्यका बारेमा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी भन्छन् , मुलुकभन्दा ठूलो कुनै उच्च पदमा बसेको व्यक्ति हुन सक्दैन प्रधानमन्त्रीले गरेको सो कार्य भत्र्सना योग्य छ, यसले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामाथिको प्रहार भएको छ ।

‘ राष्ट्रिय अस्मितालाई टुक्रा टुक्रा पार्ने, राष्ट्रिय संवेदनशील विषयमा खेलबाड गर्ने काम भएकाले प्रधानमन्त्रीलाई राजद्रोहको मद्दा लगाउनु पर्ने अधिवक्ता भण्डारीको भनाई रहेको छ । ‘मुलुकमा कानुनी राज छ भने प्रधानमन्त्रीलाई २५ वर्षको जेल सजाय हुन सक्छ ’ भण्डारीले थपे ।
साधारण जनताले यस्तो कार्य गरेमा समेत कानूनी कार्वाही गर्नु पर्ने ठाउँमा देशको कार्यकारी प्रधानमन्त्रीले नक्सा अंकित केक काट्नु भनेको देशलाई टुक्राउने सांकेतिक सन्देश दिनु भएको आरोप लगाउँदै अधिवक्ता भण्डारी भन्छन्, ‘ प्रत्येक नेपालीले प्रधानमन्त्री विरुद्ध देशद्रोह मुद्दा दर्ता गरेर, उनको राजीनामा माग्दै सडकमा उत्रिनु पर्दछ ।’

देश भित्र मात्र होइन देश बाहिर रहेका नेपाली जनता पनि प्रधानमन्त्री ओलीको यो कार्यप्रति रुष्ट छन् । जानेर वा नजानेर भएको यस्तो कार्यप्रति जनताको भावना अनुरुप प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्लान् कि नमाग्ला ? त्यो भने हेर्न वाँकी छ । – नेपाल खोज डेक्स

प्रतिक्रिया