शुक्रबार, चैत १६, २०८०

नेपालीहरुको उल्लेख्य संख्या रहेको देश दक्षिण कोरियामा कोरोना भाइरस फैलिदै, सात जनाको मृत्यु

नेपालखोज २०७६ फागुन १२ गते १६:५०

काठमाडौँ । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको सोमबार जनाइएको छ ।

त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या सात पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यस्तै कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ । तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या लगातार करिब १०० रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्तिहरु सबै हुबेइ प्रान्तका रहेका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका छन् ।

प्रतिक्रिया