बिहीबार, वैशाख १३, २०८१

कोरोनाको जोखिम मोलेर थाइल्यान्ड जाँदै नेपाली क्रिकेट टिम

नेपालखोज २०७६ फागुन १३ गते १६:५३

काठमाडौँ । एसिसी पूर्व क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताका लागि नेपालले आज अन्तिम तयारी गर्दैछ । भोली आराम गरेपछि नेपाली टिम बिहीबार क्रिकेट खेल्न थाइल्यान्ड प्रस्थान गर्दैछ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम मोलेर नेपाली क्रिकेट टोली थाइल्यान्ड जान लागेको छ । आयोजक थाइल्यान्डमा ३७ जनामा कोरोनाको संक्रमण भेटिएको छ । आज मात्र थाइल्यान्डलमा थप दुई जनामा संक्रमण भेटिएको छ ।

फागुन १७ देखि हुने प्रतियोगिताका लागि थाइल्यान्ड पुग्ने सबै खेलाडीलाई मैदान र होटल बाहेक अन्य स्थानमा नपठाउने आयोजकले निर्णय गरेको छ । कोरानाभाइरसको संक्रमणका कारण खेलाडीहरुलाई अन्यत्र जान नदिइने भएको हो ।

यस्तै थाइल्यान्ड छिर्नु अघि सबै देशका खेलाडीको परीक्षण समेत हुनेछ । नेपालले पहिलो खेल फागुन १७ मा मलेसियासँग खेल्नेछ । यस्तै दोस्रो खेल १८ फागुनमा हङकङ, २१ फागुन आयोजक थाइल्यान्ड र २३ फागुनमा सिंगापुरसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टीम एसिया कप टी–२० को छनोट प्रतियोगिताका लागि छानिने छन् । प्रतियोगिता आगामी अगस्टमा चार टीमबीच हुनेछ । टी–२० एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र छनोटको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया