शुक्रबार, वैशाख १४, २०८१

भ्रष्टाचार काण्डबारे प्रधानमन्त्रीले थाहा नपाएजस्तो गर्नु पाप हो : गगन थापा (भिडियो सहित)

नेपालखोज २०७६ फागुन १३ गते १७:५३

काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचार लगायतका एकपछि अर्को काण्डबारे प्रधानमन्त्रीले थाहा नपाएजस्तो गर्नु पाप हुने थापाको भनाइ छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले भने ‘सबै कुरा थाहा पाएर थाहा नपाएजस्तो गरिरहनुभएको छ भने त्यो पाप हो। केही थाहा पाउनुभएको छैन भने त्यो असक्षमता हो,’

थापाले अंकगणितीय रुपमा बलियो भएपनि सरकार कमजोरभएको बताउँदै भने, ‘संख्या तपाईंसँग होला प्रधानमन्त्री जी। तर, शासन गर्ने बलिदान, योग्यता, क्षमता भने अब गुमाइसक्नुभयो। तसर्थ सम्माननीय प्रधानमन्त्री जी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाई स्वास्थ्यलाभ गर्न गइदिनुस्।’

उनले सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजयकुमार मिश्रबीचको लेनदेनको वार्तालाप सार्वजनिक भएपछि यसको जवाफ प्रधानमन्त्रीका हैसियतले सदनमा दिनुपर्ने बताए । उनले भने, ‘हामीले फागुन ९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र विजयकुमार मिश्रबीचको लेनदेनको वार्तालापको अडियो सुन्यौं। यो वार्तालाप प्रधानमन्त्रीले दुई महिना अगाडि सुन्नुभएको थियो भन्ने दाबीसहित सञ्चार माध्यममा समाचार आइरहेका छन्। यस विषयमा संसदमा उभिएर आँखामा आँखा जुधाएर, नागरिक र हाम्रा प्रश्नको जवाफ दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन।

प्रधानमन्त्रीले आफ्नै मन्त्रिपरिषद्का सदस्य लेनदेनको बिषयमा प्रत्यक्ष रुपमा मुछिन्छन् भने त्यसको जवाफ दिन प्रधानमन्त्रीसँग हिम्मत छैन भने संसदसँग यो हिम्मत हुनुपर्ने बताउँदै थापाले भने, ‘प्रधानमन्त्रीसँग हिम्मत नभएपनि संसदसँग यो हिम्मत हुनुपर्छ। सभामुख महोदयलाई मेरो ध्यानाकर्षण मात्रै होइन, संसदले यो सामर्थ्य राख्नैपर्छ। प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन, ताल तलैया हेरेर बस्ने होइन, सदनमा आउनुपर्छ। संसदको रोष्टममा उभिएर हाम्रा प्रश्नको सामना गर्नुपर्छ। हामीले उहाँलाई निम्छरो होइन, गम्भिर प्रश्न सोध्नेछौं। सभामुख महोदयलाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न आग्रह गर्न चाहन्छु।’

थापाले बाँस्कोटा काण्डका बारेमा प्रधानमन्त्रीले आफूलाई थाहा छैन भनेर मौन बस्न नमिल्ने धारणा राख्दै भने, ‘प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन। तर, उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहनुभएको छ, प्रधानमन्त्रीको तुलो चलाउने, तुलोमा राख्दैगर्दा कसैले नभ्याउने र प्रधानमन्त्रीकै भनाईलाई आधार मान्ने हो भने काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली उहाँ नेतृत्वका सरकारका प्रवक्ताले गरेका कार्य उहाँलाई थाहा छैन भनेर हामीले पत्याइ दिनुपर्ने ? हामीले पत्याउने नै हो भने प्रधानमन्त्रीलाई प्रश्न छ, ‘सबै कुरा तपाईंलाई थाहा छैन भने कसलाई थाहा छ ?’

प्रतिक्रिया