बुधबार, वैशाख १२, २०८१

नेकपा सचिवालय बैठकको गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय, प्रधानमन्त्री बन्नमा भने रोक

नेपालखोज २०७६ फागुन १४ गते १९:११

काठमाण्डौ । केही दिनदेखि राष्ट्रिय सभामा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर प्रधानमन्त्री समेत बनाउन मिल्ने गरी संविधान संशोधन गर्ने रणनीतिबाट नेकपा पछि हटेको छ । संविधान संशोधन गर्नको निम्ति पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरिएतापनि यसले कार्य गर्नुपूर्व नै निरन्तरता पाउन सकेन ।

अघिल्लो पार्टी सचिवालय बैठकमा संविधान संशोधनको बिषयमा गठन गरिएको कार्यदलका बारेमा गोप्य राख्ने सहमति भएतापनि सार्वजनिक सञ्चार माध्यममा भएपछि यसको आलोचना भएका कारण कार्यदलका सदस्यहरु सुवास नेवाङ र खिमलाल देवकोटाले असमति जाहेर गर्दै कार्यदलमा बस्न नसक्ने जनाउ दिएका थिए ।

यता यो बिषयमा मौन समर्थन मात्र गरेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रिय सभामा समेत गौतमलाई नल्याृने मनस्थितिमा पुगेका थिए । उनी हालका अर्थमन्त्री डा.युवराज खतिवडालाई नै निरन्तरता दिने योजनामा रहेका थिए । राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको रिक्त पदमा पार्टी उपाध्यक्ष गौतमलाई ल्याउने सहमति पार्टीमा भएका कारण खतिवडालाई निरन्तरता दिने ओलीको योजना विफल भएको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले खतिवडालाई निरन्तरता दिनुपर्ने बताएका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा पनि उनले खतिवडालाई निरन्तरता दिन जोड गरेका थिए ।

तर, ओलीको चाहना विपरित गौतमलाई मनोनित कोटाबाट राष्ट्रिय सभाका लागि सिफारिस गर्ने पक्षमा नेकपा केन्द्रीय सचिवालयका बहुमत सदस्यहरु देखिए ।

ओलीको चाहना विपरित केन्द्रीय सचिवालयको निर्णयबाट गौतम राष्ट्रिय सभामा पुग्ने बाटो खुला भए पनि आजकै बैठकले गौतमको प्रधानमन्त्री बन्ने योजनामा भने ब्रेक लगाइदिएको छ ।

१० फागुनको बैठकले राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संसोधन गर्न बरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने अनौपचारिक निर्णय गरेको थियो । गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउने योजनाका साथ यो निर्णय भएको थियो ।

तर, व्यक्तिलाई केन्द्रमा राखेर संविधान संसोधन गर्ने नेकपाको तयारीको विरोध भएपछि नेकपा पछि हट्न बाध्य भयो ।

प्रतिक्रिया