सोमबार, वैशाख १५, २०८२

सप्तरीका दलित समुदायका लागि पक्की घर निर्माण गरिने

नेपालखोज २०७६ फागुन १५ गते ९:१८

सप्तरी । सप्तरीमा दलित समुदायका लागि पक्की आवास निर्माण हुने भएको छ । अति विपन्न दलित समूदायलाई ‘जनता आवास कार्यक्रम’ अन्तर्गत सप्तरीमा यस वर्ष ६ सय ६६ वटा पक्की आवास निर्माण हुने भएको छ ।

जिल्लाका मरिक (डोम) तथा मेहतर समूदायका लागि आवास निर्माण गर्न थालिएको योजनाअनुसार पहिलो चरणमा २ सय ७१ वटा पक्की आवास निर्माण प्रक्रिया सुरु भएको हो ।

निजी तथा गाउँ ब्लकको जग्गामा बसोवास गरिरहेका परिवारका लागि आवास निर्माण सुरु भएको छ ।  प्रदेशसभा सदस्यसमेत रहेका संयोजक विदेश्वरप्रसाद यादवले जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६–०७७ मा सप्तरीमा ६ सय ६६ वटा पक्की आवास निर्माण गर्ने तयारी रहेको बताए ।

कार्यक्रम अनुसार २ सय ७१ वटा आवास निर्माण थालिएको छ भने ऐलानी र अन्य जग्गामा बसोवास रहेको ती समूदायको आवास निर्माण गर्न स्थानीय तहले हालसम्म सिफारिस नपठाएकोले कार्य सुरु गर्न ढिलाई भएको बताइएको छ ।

अन्य आवास निर्माण पनि स्थानीय तहले सिफारिस पठाएसँगै कार्य सुरु गर्ने तयारी रहेको संयोजक यादवको भनाई छ ।

प्रतिक्रिया