बुधबार, वैशाख १२, २०८१

बैतडीका २७ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइदैँ

नेपालखोज २०७६ फागुन १५ गते ९:५६

बैतडी । बैतडीमा २७ हजार ४३४ बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियान अन्तर्गत आगामी चैत १ गतेदेखि चैत १४ गते सम्म ९ महिना भन्दा माथिका र ५ बर्ष मुनिका बालबालिकाहरुलाई सो खोप लगाइने भएको हो ।

दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

बैतडी पूर्ण खोपयुक्त जिल्ला भएकाले बालबालिकाहरुले पाउनुपर्ने खोप पूर्ण रुपमा पाउनुपर्ने हुन्छ । बैतडीलाई २०७२ साल असार ६ गतेका दिन पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

दादुरा–रुबेला खोप अभियानका लागि दुई सय बढी स्वास्थ्यकर्मी र १ हजार २६० स्वयंसेवक परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । चैत १ देखि ७ गतेसम्म पहिलो चरण र ८ देखि १४ गतेसम्म दोश्रो चरण गरी दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

पहिलो चरणमा जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

दोश्रो चरणमा पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लाका ६३० खोपकेन्द्रबाट दादुरा–रुबेला खोप दिइनेछ ।

प्रतिक्रिया