सोमबार, वैशाख १५, २०८२

खानेपानीका लागि शौचालयको ढल मिसाएकाे भेरी नदीकै भर, ३ घण्टा हिँडेर पानी बोक्नुपर्ने बाध्यता

नेपालखोज २०७६ फागुन १८ गते ७:१८

खलङ्गा । यहाँको भेरी नगरपालिका–१३, कुदुकी हीरा गिरी पैदल हिँडेर नजिकैको भेरी नदी किनारमा पुग्नुहुन्छ । नदी सङ्लो भए खुसी हुने र धमिलो भए मन खिन्न हुने उहाँको दैनिकी छ । नदीको पानी धमिलो भए पनि गाग्री नभरेर उहाँलाई धरै छैन ।

डोल्पाको दुनै हुँदै ठूलीभेरी बग्छ भने रुकुम मुसिकोट हुँदै सानीभेरी बग्छ । जाजरकोटको रिम्नामा दुवै नदी मिसिएर बनेको भेरी नदी किनारमा सयौँ बस्ती छन् । कतिपय ठाउँमा सीधै नदीमा शौचालयको ढल र अन्य ढल मिसाइएको छ । जसले गर्दा भेरी नदी दिन प्रतिदिन प्रदूषित भइरहेको छ ।

तर, विकल्प नहुँदा कुदुवासी भने त्यही फोहोर पानी पिउन बाध्य छन् । सदरमुकाम खलङ्गा नजिकैको गाउँ हो कुदु । यहाँका करिब ४०० स्थानीय तीन घण्टा हिँडेर भेरीको पानी बोक्नुपर्ने स्थिति छ । स्कुले विद्यार्थीदेखि उमेरले नेटो काटिसकेका महिलालाई खानेपानीको समस्याले निकै पिरोल्ने गरेको छ ।

६७ वर्षीया कमला आचार्यलाई बिहानबेलुका भेरी नदीबाट पानी ल्याउने चिन्ताले सधैँ सताउँछ । उहाँले नदीको धमिलो पानीका कारण रुघाखोकीजस्ता रोग लागे पनि बाध्य भएर खानुपरेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया