सोमबार, माघ २८, २०८१

क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण कार्य अन्तिम चरणमा, भाइरस नेगेटिभ देखिए भोली घर फर्काउने तयारी

नेपालखोज २०७६ फागुन १८ गते ९:१९

काठमाडौँ । चीनको हुवेइ प्रान्तको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरुमा कोरोना भाइरस नेगेटिभ देखिए सोमबार भोली घर फर्काइने तयारी गरिएको छ ।

Advertisement

उद्धार गरी ल्याइएका नेपालीहरुको दोस्रो पटकको थ्रोट स्वाव (घाँटी र नाकर्को याल) परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना नेपालीको थ्रोट स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले उद्धार गरेर ल्याइएका सबै नेपालीको परीक्षण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने,‘ सबैको परीक्षण भइरहेको छ । भाइरस नेगेटिभ देखिए घर फर्काउने योजना छ । भोली (सोमबार) बेलुकीसम्म फर्कन सक्छन ।’

संकलित थ्रोट स्वावको परीक्षणकालागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको छ । उद्धार गरेर ल्याइएका १ सय ३५ जना पुरुष र ४० जना महिला (बच्चा सहितको दुई परिवार) छन् ।

वुहानको ६ वटा सहरमा रहेका १ सय ७५ नेपालीलाई दुई साता अघि स्वदेश ल्याइएको हो । उद्धार गरिएका सबै नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ । १४ दिनदेखि क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई स्वास्थ्यकर्मीले २४ सै घण्टा निगरानी गरिरहेका छन् ।

 

प्रतिक्रिया