सरकार विदेश नजाऊ भन्ने, सरकारी टोली विदेश उड्ने !
काठमाडौं । नेपाल सरकारले कोरोना भाईरसका कारण नेपाली जनताहरुलाई विदेश नजान आग्रह गरिरहेको बेला राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले भने सरकारी टोलीलाई जापान उडाएको छ ।
आज विहान नेपाल जापान सिधा उडान भर्ने नाममा बायुसेवा निगमले सरकारी टोली भन्दै १५ जना व्यक्तिलाई जापान पु¥याएको छ । थाई एयरसँगै आफ्नो सेवा शुरु गरेको नेपाल वायुसेवा निगम सँधै घाटामा रहेको छ । आफूसँगै हवाई सेवा शुरु गरेको थाई एयर आज विश्वको प्रत्येक कुनामा पुग्न सफल भएको छ भने नेपाल एयरलाईन्स भने यस्तै हावादारी भ्रमणका कारण टाट पल्टँदै आएको हो ।
कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान समेत बन्द गर्न सरकार तल्लीन रहेकै बेला सरकारी मातहतमा रहेको नेपाल वायुसेवा निगमले यतिखेर सरकारी टोली विदेश उडाउनु आवश्यक छ ? अवौं रुपैयाँ खर्चेर मनाउन लागिएको भ्रमण वर्ष समेत रद्द गरिसकेको परिप्रेक्ष्यमा वायुसेवा निगमले सरकारी टोली लिएर विदेश उड्नुलाई आर्थिक अनियमिततासँग जोडिएर हेरिएको छ ।
त्यहाँ बस्ने खाने सवै खर्च नेपाल वायुसेवा निगमकै हुने भएकोले पनि त्यहाँ भित्रको कमिशनका लागि कोरोना भाइरसलाई समेत वेवास्ता गर्दै जापान उडान गरिएको नेपाल वायुसेवा निगम श्रोतले बताएको छ ।
अनुकूल समय नहुँदा नहुँदै पनि कार्यक्रम जसरी पनि गर्ने र जापान सरकारी टोली लिएरै जानु पर्ने कारण के हो ? आजै जापान नगएर एक हप्ता वा केही समय पछि यो सरकारी टोलीको भ्रमण गराउँदा के विग्रन्थ्यो भन्ने प्रश्नको जवाफ निगमका कसैले पनि दिन चाहँदैन । यही विषयमा नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्कासँग फोन सम्पर्क प्रयास गरेपनि सो विषयमा कुरा हुन भने पाएन । नेपाल वायुसेवा निगमले यस्तै हर्कत गर्दै जाने हो भने वाइडबडीको उडान पनि विगतकै अवस्थामा पुग्ने संकेत देखिएको छ ।
कसकसलाई लगियो जापान ?
निगमले प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पिए प्रेम गुरागाईँ, सांसदहरु कृष्णप्रसाद दाहाल, गणेशकुमार पहाडी, सरलाकुमारी यादवलाई जापान भ्रमणमा लगेको छ ।
निगमकै प्रवन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा निगमको वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल, इन्जिनियर अच्युतराज पहाडी लगायतका कर्मचारी पनि जापान भ्रमणमा गएका छन् ।
यस अतिरिक्त सञ्चारकर्मीहरु कालिका खड्का, राजेश राई, टेलिभिजन कार्यक्रम सञ्चालिका निमाकुमारी काफ्ले पनि जापान गएका छन् । यस्तै, खगेन्द्र अधिकारी, बेन्जु सुवेदी, बोधमाया यादव, प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङ पनि जापान गएका छन् ।
प्रतिक्रिया