सुरक्षा निकायले आफैं पिसिआर मेसिन जडान गर्ने
काठमाडाै । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आफैले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अगाडि बढाएका छन् । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला सबैभन्दा अगाडी सुरक्षा फौज खटिएका छन् । जसको कारण फौजमा संक्रमितको संख्या बढ्दै जाँदा आफैंले पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारीमा जुटेको छ ।
सेना र सशस्त्र प्रहरीले पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । नेपाल प्रहरी अस्पतालले पनि महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीमार्फत् उद्घाटन गरेर केही प्राविधिक पक्ष मिलाउन बाहेक सबै प्रक्रिया पुरा गरी परिक्षण गर्ने तयारी गरेको छ ।
अभियुक्तको म्याद थप्दा पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर रिपोर्ट नभएमा विद्युतीय कारोबार सम्बन्धी ऐनका अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले फिर्ता गरिदिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापा बताउछन् ।
शान्ति मिसनमा जान पनि पीसीआर रिपोर्ट अनिवार्य छ । महामारीका कारण ३ महिना रोकिएको मिसन फेरि सुरु हुँदैछ । मिसनमा जानेहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । एक हजार सैनिक अधिकारी संयुक्त राष्ट्रसंघको मिसनमा जाँदैछन् ।
यूएनले मिसनमा आउनेहरुको पीसीआर रिपोर्ट अनिवार्य पठाउन भनेको छ । त्यसैको जाँचका लागि पनि सेनाले आफैं पीसीआर मेसिन खरिद गर्न लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे बताए ।
हालसम्म नेपाली सेनामा ५२ जना अधिकारीमा कोभिड–१९ संक्रमण देखिएको छ भने २५ जना निको भइसकेका छन् । नेपाल प्रहरीमा ८२ जना संक्रमित रहेको प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए । सशस्त्र प्रहरीमा ४३ जना संक्रमित छन्, तीमध्ये २५ जना निको भइसकेको सशस्त्र प्रहरी प्रवक्ता प्रविणकुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया