मिस वर्ल्ड टोनी नेपालमा, मिस वर्ल्ड २०२० नेपालमा गर्नेबारे छलफल
काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएकी हुन् ।
मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित आएकी जमैकाकी सुन्दरी टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरे ।
उनीहरुले बिहीबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि भेटेका छन् । भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव भए नभएको विषयमा समेत कुराकानी भएको थियो । ‘सरकार आयोजक हुने होइन, समन्वय गर्ने हो’ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रीज्यूले तपाईहरुले भेन्यू हेर्नुस्, लोकल आयोजकहरुसँग छलफल गर्नुस् र, उपयुक्त प्रस्ताव ल्याउनुस् भन्नु भएको छ ।’
मन्त्रालयका अधिकारीहरुकाअनुसार यो सौन्दर्य प्रतियोगिता नेपालमा गर्न सम्भव छ छैन भन्ने बुझ्न आयोजक संस्थाकी अध्यक्ष मोर्ली आफैं आएकी हुन् । तर प्रारम्भिक छलफलमै रहेकाले मिस वर्ल्ड २०२० नेपालमा हुने नहुने भन्न गाह्रो छ ।
प्रतिक्रिया