शुक्रबार, वैशाख १४, २०८१

सांसद बस्नेतले चरखण्डी पुल शिलान्यास गर्दै भने, ‘भक्तपुरमा विकासको लहर छाएको छ ’

नेपालखोज २०७६ फागुन २५ गते २१:३८

भक्तपुर । सूर्यविनायक नगरपालिका १ सिरुटार र ४ दधिकोटको चित्रपुर जोड्ने सिमानामा रहेको चरखण्डी खोलामा निर्माण हुने पुलको शिलन्यास गरिएको छ ।

स्थानीय विकास पूर्वाधार आयोजनाको भ्याट बाहेक कूल रु ७० लाख ४७ हजारको लागतमा निर्माण हुन लागेको पुलको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री एवं संघीय सांसद महेश बस्नेतले शिलन्यास गरेका हुन् ।

शिलन्यास कार्यक्रममा बोल्दै उनले विकासमा पिछडिएको र दुर्गम मानिने सूर्यविनायक नगरपालिका क्षेत्रमा अहिले विकासमा क्रान्ति आएको बताए । सांसद बस्नेतले चुनावमा भोट माग्दा आमजनताले सडक, ढल र खानेपानीको माग गरेको बताउँदै आफ्नो कार्यकालमा जनताको यो मागलाई पेूरा गर्ने गरि विकासमा क्रान्ति ल्याएको बताए।

‘ यो वर्ष मात्रै साना १० वटा र ठूला ६ वटा पुल बनिरहेका छन्, भक्तपुर जिल्लामा हाम्रो पहलमा गतवर्षदेखि अहिलेसम्म २९ वटा पुल निर्माणको काम अगाडि बढाएका छौ, नेकपाका केन्द्रीय सदस्य एवं युवा संघका केन्द्रीय इन्चार्ज समेत रहेका सांसद बस्नेतले भने, विहान उठेदेखि राती नसुतेसम्म जनताको विकासको काम लिएर हिडिरहेको छु, जनताले खाजेको विकास बाहेक मेरो अरु कुनै स्वार्थ छैन ।”

सूर्यविनायकको मूल सडकको रुपमा ललितपुरको बालकुमारीबाट बालकोट, चित्रपुर हुँदै रानीकोट जाने सडक निर्माणमा रु। ४० करोड, पात्लेटारमा रु। २ करोड ५० लाख, कटुञ्जे सिरुटार हुँदै लुभु जाने सडकमा पुल समेत गर्दा रु। ७ करोडको लागतसँगै सूर्यविनायक गुण्डु, थिमि बालकोट, जगाती सिपाडोल लगायत सडकहरुको निर्माण कार्य भईरहेको र सडक डिभिजन कार्यालय मार्फत मात्रै ३५ करोडका विभिन्न सडकहरु निर्माण अगाडि बढेको उनले बताए । राम्रो कामको जनताले मूल्याङ्कन गर्ने भएकाले केही जन्मदै बिरोधी मानसिकता लिएर आएकाहरुको विरोधको बेवास्ता गर्दै जनताको सुझावलाई लिएर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा वाग्मती प्रदेशका सदस्य शशीजंग थापाले कौशल्टार, बालकोट सिरुटार सडक खण्ड अन्तर्गत बालकोटसम्म सकिएको र अर्को आर्थिक बर्षमा मा सिरुटारको सडक विस्तार कार्य सम्पन्न गर्ने बताए। उनले संघीय, प्रदेश र स्थानीय बजेटले आगामी दुईवर्ष भित्र पक्कि सडक, ढल र खानेपानीको पहुँच सबै नागरिकको घरघरमा पुग्ने गरि विकासका कामहरु अगाडि बढाएको बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेतले गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरि समय मै पुल निर्माण हुनुपर्नेमा जोड दिइन्। कार्यक्रममा सूनपा १ का वडा अध्यक्ष सानुकाजी कायस्थले उक्त पुलका लागि कूल रु। १ करोड २६ लाख १८ हजार बजेट लागत अनुमान गरिएकोमा भ्याट बाहेक ७० लाख ४७ हजारको लागतमा आठ मिटर लम्बाई र १०.५ मिटर चौडाई रहेको पुल निर्माणको ठेक्का भएको जानकारी दिइन् ।

प्रतिक्रिया