शुक्रबार, जेठ ११, २०८१

चक्रपथ विस्तार आयोजना : ट्र्याक रोड र फूटपाथ नेपालले नै बनाउने

नेपालखोज २०७६ फागुन ३० गते ६:४९

काठमाडाैं । दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले ८ लेनको मुख्य सडकसँगै दायाँबायाँ बन्ने ट्र्याक रोड र फूटपाथ निर्माणका लागि अर्थ मन्त्रालयसँग लगानीको प्रस्ताव गरेको हो ।

चीनको सहयोगमा चक्रपथलाई ८ लेनको बनाइँदै छ । सोही सडकको दायाँबायाँ ६ र ६ मीटरमा बन्ने ट्र्याक रोड र डेढ मीटरमा बन्ने फूटपाथका लागि नेपालले नै लगानी गर्ने गरी मन्त्रालयमा प्रस्ताव गरिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । यी दुई संरचना निर्माण हुँदा चक्रपथको यो खण्ड १० लेनमा विस्तार हुने रिमालको भनाइ छ । कलंकीको मकालु पेट्रोलपम्पदेखि चाबहिलको गोपीकृष्ण हलसम्मको यो सडक खण्ड ११ दशमलव ६ किलोमीटर छ ।

यसैगरी ट्र्याक रोडभित्र ढललगायत पाइपहरू राख्ने गरी डिजाइन हुने पनि उनले बताए । करीब ३ वर्षमा सडक विस्तार गरिसक्ने लक्ष्य राखिएको यो सडक विस्तार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अझै तयार भएको छैन । साइट क्लियर भएपछि चिनियाँ पक्षलाई जानकारी गराउने र उनीहरू आएपछि डीपीआर बन्नेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया