बिहीबार, वैशाख १३, २०८१

काभ्रेका ३२ हजार बालबालिकालाई दादुरा–रुवेला खोप लगाइँदै

नेपालखोज २०७६ चैत २ गते ९:१८

काभ्रे । दादुरा–रुवेला खोप अभियानअन्तर्गत काभ्रेका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले शनिबार धुलिखेल नगरपालिकास्थित २८ किलोमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरेका छन् ।

जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र चार गाउँपालिका तथा दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बाँकी स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना सो कार्यालयको रहेको छ । यहाँ छ नगरपालिका र सात गाउँपालिका छन् ।

सन् २०१६ मा सञ्चालित दादुराविरुद्धको खोप अभियानमा जिल्लाका करिब २४ प्रतिशत बालबालिका छुटेकाले यसपटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले घरघरमा निम्तापत्र पठाइएको प्रमुख डा झाले जानकारी दिए ।

सरकारले दादुरा–रुवेला खोप अभियानअन्तर्गत पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश नं १, २ र ५ मा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप दिएको थियो ।

अभियानको दोस्रो चरणअन्तर्गत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने तयारी गरिएको हो ।

साथै यस अभियानअन्तर्गत नै झापादेखि कञ्चनपुरसम्मका १६ जिल्लामा भने सब बालबालिकालाई दादुरा–रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाउने सरकारको योजना छ ।

प्रतिक्रिया