शनिबार, फागुन ३, २०८१

तित्याङमा एक वर्षभित्रै तामाखानी सञ्चालनमा आउने

नेपालखोज २०७६ चैत ३ गते १२:३०

बलेवा । देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक प्रविधिको प्रयोग गरी बागलुङको तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम भइरहेको छ ।

Advertisement

बूढापाकाका अनुसार तित्याङको खानीगाउँमा झण्डै दुई सय वर्षपहिले तामाखानी सञ्चालनमा थियो । मल्लकालीन समयमा स्थानीय प्रविधि प्रयोग गरेर हालको बागलुङ नगरपालिका–९ तित्याङ खानीगाउँका पाखोमा तामा निकालिएको थियो भन्छन्, स्थानीयवासी सन्तबहादुर जिसी । “उबेला हाम्रा जिजुबाजेले खानीबाट तामा निकाल्ने क्रममा मान्छे पुरिएपछि बन्द भएको भन्ने सुनिन्छ”, जिसीले भने, “पछि तामा निकाल्दा बनेका सुरुङमा हैजा लागेका मान्छे राख्थे भन्नुहुथ्यो बा’ले ।”

चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले चार महिनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको छ । चार महिना पहिले यहाँ आएका खानी विज्ञको समूहले सम्भावना औँल्याएपछि मेशिन नै प्रयोग गरेर परीक्षणको काम चलिरहेको छ । “यहाँ तामा ९० प्रतिशत छ भन्नेमा हामी पुग्याैँ, के कति छ भन्ने निक्र्यौल गर्न मात्रै बाँकी हो”, शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भने, “तामासँगै हुने धातुको अध्ययन भइरहेको छ ।”

प्रतिक्रिया