शुक्रबार, माघ २५, २०८१

दलहरुबीच सहमतिको पर्खाइमा उपसभामुख निर्वाचन

नेपालखोज २०७६ चैत ३ गते १७:२१

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताएका छन् । सोमबार (आज) सिंहदरबारमा पत्रकारहरुसँगको अनौपचारिक भेटमा उनले यस्तो बताएका हुन् । उपसभामुख निर्वाचनका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलकै चरणमा रहेको पाएको जानकारी दिए ।

Advertisement

उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखका सम्बन्धमा दलहरुबीचमा सहमति जुट्न सकेको छैन ।

सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्षको परामर्शमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी तोकिएकोसमेत बताए । “महासचिवको अनुपस्थितिमा यसअघि पनि उहाँले नै कावा महासचिवका जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो, अध्यक्षसँगको परामर्श र ज्येष्ठताका आधारमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको हो”, उनले भने ।

प्रतिनिधिसभाका महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि सेवानिवृत्त भएसँगै सभामुख सापकोटाले प्रतिनिसिभाका सचिव योगीलाई आजदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म महासचिवको जिम्मेवारीको तोकेका थिए।

यस्तै, केही संसदीय समितिका बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले त्यसका लागि आफूले छलफल थालेको बताए।

“समितिको बैठकमा सञ्चारकर्मीको सहज पुहँचका लागि म लागिपरेको छु”, उनले भने, “सञ्चारकर्मीलाई पहुँच होस् भन्ने नै हो, यही विषयमा समितिका सभापतिसँग कुराकानी गर्नेछु ।” समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा आफूले यही बुधबार प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापतिसँग छलफल राखेको जानकारी दिए ।

आन्तरिक व्यवस्थापनका विषयमा लाग्दा आफूले विभिन्न समितिमा गैरसरकारी संस्थाको पुहँचका बारेमा सोच्न नभ्याएको उनको प्रस्टोक्ति छ। चालु अधिवेशन अन्त्य गर्ने विषय छलफलकै चरणमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया