बिहीबार, माघ २४, २०८१

‘बिहेवारी बीस वर्षपारि’ लाई व्यावहारिकतामा ढाल्दै

नेपालखोज २०७६ चैत ४ गते १२:५१

रामपुर । बालविवाह न्यूनीकरणको उद्देश्यका साथ नेपालमा ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइ सुन्न थालिएको वर्षौं भइसके पनि उमेर नपुग्दै विवाह गर्ने क्रम भने रोकिएको छैन । परिपक्व नभई हुने विवाहसँगै त्यसले निम्त्याएका शारीरिक जोखिम त छँदै छन् यसले सामाजिकरूपमा पनि असर पारिरहेको छ । यिनै वास्तविकतालाई दृष्टिगत गरी बालविवाह न्यूनीकरणका लागि पाल्पाको रामपुरमा सचेतना अभियान थालिएको छ ।

Advertisement

रामपुर नगरपालिका–६ को कार्यालयले ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइबारे सचेत गराउँदै विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न थालेको हो । वडा कार्यालयले विद्यालयमा पुगेर बालबालिकालाई बालविवाहबारे सचेत गराउँदै विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

यहाँका दरैठाँटी माविमा यस वर्ष एक जना विद्यार्थीको विद्यालय उमेरमा नै विवाह भयो । त्यस्तै नवदुर्गा माविमा उमेर नपुग्दै गत वर्ष दुईले विवाह गरेर घरजम गरेका छन् । यो अवस्था देखेर वडा कार्यालयले उमेर नपुग्दै विवाह हुने दरलाई कम गर्न बालविवाह सचेतना अभियान चलाएको हो ।

‘म र मेरो समाजको भूमिका, बालविवाह’ जस्ता शीर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरी बालविवाह न्यूनीकरणको अभ्यासमा लागेको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । “बालविवाह न्यूनीकरण गरी शून्यमा पु¥याउन हामीले पहिला विद्यालयबाट अभियान शुरु गरेका छौँ”, उनले भने, “निबन्ध लेख्न लगाउने र पुरस्कृत गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने गरेका छौँ ।”

विद्यालयबाट शुरु भएको कार्यक्रम अभिभावक हुँदै सरोकारपक्षसम्म निरन्तर सञ्चालन गर्ने जानकारी दिँदै उनले वडामा बालविवाहको दर शून्यमा पु¥याउने लक्ष्यका साथ लागेको बताए । बालविवाह न्यूनीकरणसम्बन्धमा वडाले विद्यालयमा आएर गरेको कार्यक्रमले राम्रो प्रभाव पारेको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए ।

प्रतिक्रिया