आज सर्वाेच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा
काठमाण्डौं । बिहीबार आज सर्वाेच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिइएको छ ।
पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना प्रकट गर्दै सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार आज सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।
धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मिएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । उनि उमेर हदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले निकालेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति भएको र देशले देवानी कानुन क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।
प्रतिक्रिया