शुक्रबार, कार्तिक २३, २०८१

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती

नेपालखोज २०८१ कार्तिक १४ गते १४:५३

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो । आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आज बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजा, आराधना गरेका थिए । धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रुपमासमेत मानिन्छ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । आयुर्वेद चार वेदमध्येको अथर्ववेदको उपवेद हो ।

धन्वन्तरी जयन्तीका अवसरमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड।, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाइएको छ ।

कोरोना र डेङ्गुबाट बच्न जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि बढी प्रभावकारी भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । कोरोनाकालपछि आयुर्वेदका औषधिको बिक्री चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिको अभिलेख छ । आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म बढिरहेका बेला सिंहदरबार वैद्यखानाको उत्पादन भने घटेको छ ।

प्रतिक्रिया