बागमती प्रदेशमा पाँचसय शैय्याको निगरानी कक्ष बनाइदैँ
हेटौंडा । कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शैय्याको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ ।
प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक्ष निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो समितिको बैठकले प्रदेशस्तरीय तीन उच्चस्तरीय समिति पनि गठन गरेको उनले बताए ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मन्त्री ढुङ्गेलका अनुसार बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा प्रदेशस्तरीय कोरोना नियन्त्रण समिति गठन गरेको छ ।
सो समितिमा आर्थिक मामिला तथा योजनामन्त्री, सामाजिक विकासमन्त्री, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रतिनिधि सदस्य रहने जनाइएको छ ।
प्रतिक्रिया