स्वास्थ्य मन्त्रालय मातहतका सहसचिव तथा विभागीय प्रमुखलाई विदा नदिइने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका सहसचिव तथा विभागीय प्रमुख बिदामा बस्न नपाउने भएका छन् ।
मन्त्रालयले कोरोना भाइरस रोग नियन्त्रण व्यवस्थापनमा खटिनु पर्ने भएकाले सहसचिव र विभागीय प्रमुखलाई बिदा नबस्न निर्देशन दिएको हो ।
यसैगरी उपसचिव र अधिकृतस्तरका कर्मचारीहरूलाई काठमाडौँ उपत्यका नछाड्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
यसैबीच नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवा प्रवाह गर्दा पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम तथा क्षमता अभिवृद्धि गर्न माग गरेको छ ।
यस्तै, सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्ड अनुसार कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरूको उपचारमा अपनाउनु पर्ने वैज्ञानिक विधिसहितको तालिम यथाशीघ्र उपलब्ध गराएर मात्र काममा खटाउन आग्रह गरेको छ ।
स्वास्थ्यकर्मी तथा चिकित्सकको स्वास्थ्य सुरक्षाका औजार, उपकरण तथा सङ्क्रमणबाट जोगिन सक्ने सामग्रीको सहज उपलब्धता यथाशीघ्र गराई सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सुनिश्चित गर्न समेत माग गरिएको छ ।
प्रतिक्रिया