बिहीबार, वैशाख २०, २०८१

प्रदेश १ सरकारद्वारा योजना आयोगका पदाधिकारी नियुक्त

नेपालखोज २०७८ चैत २२ गते ६:५२

मोरङ । प्रदेश–१ सरकारले योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ । हिजो राति अबेरसम्म चलेको प्रदेश–१ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको हो । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ ।

प्रदेश–१ सरकारका नवनियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । 

आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई, र अञ्जु खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताए । 

बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ ।

सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय भएको छ । बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेशन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए । रासस

प्रतिक्रिया