बुधबार, असार ६, २०८१

कोरोना प्रभाव : कञ्चनपुरमा आज रातिदेखि कर्फ्यु, दुई दिन भित्र सिमा नाका समेत बन्द हुने

नेपालखोज २०७६ चैत ९ गते १८:०८

काठमाडौँ । कञ्चनपुरमा जिल्लामा घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा अनुसार आज राति १२ बजेदेखि लागुहुनेगरि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले घरबाहिर निस्कन प्रतिबन्ध लगाएको हो । उनले भने, ‘जिल्ला लक डाउन गरिएको छ, यो एक किसिमको कर्फ्यु हो ।’

विश्वमा कोभिड १९ भाइरसले महामारिको रुप लिइरहेका बेला जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको  हो । बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

सूचनाको वेवास्ता गर्दै कोहि अत्यावश्यक विना घरबाहिर निस्किए कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।
आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ ।

अहिले नै नाका बन्द गर्दा भारतबाट घर फर्किनेहरुलाई समस्या पर्ने हुनाले दुई दिनपछि मात्र नाका बन्द गर्न लागिएको प्रजिअ खतिवडाले बताए ।

प्रतिक्रिया