कोभिड–१९ः सुदूरपश्चिमभर सतर्कता
भीमदत्तनगर । कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ ।
यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन् ।
सोमबार कञ्चनपुर र कैलालीमा नेपाल–भारत सीमानाका बन्द गरिए पनि उच्च सतर्कताका साथ नेपालीलाई स्वास्थ्य परीक्षण गरी भित्र्याइएको थियो । आज बिहान भने कञ्चनपुरको सीमावर्ती बजार वनबासा र कैलालीको गौरीफण्टा नाकामा सयौंँ नेपाली अलपत्र परेका छन् । उनीहरुलाई नेपाल आउन दिइएको छैन । मुलुकभर लकडाउन भएसंँगै सुदूरपश्चिमभर आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन भएका छन् ।
यहाँका विभिन्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गर्दै यहाँका बजार, व्यवसाय र कलकारखाना बन्द गर्न निषेधाज्ञा जारीसमेत गरेका छन् ।
पहाडी जिल्ला डडेल्धुरा, दार्चुला र बैतडीलगायत जिल्लामा समेत लकडाउनको प्रभाव देखिएको छ । त्यसैगरी सुदूरपीश्चम प्रदेशमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायले स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा दर्जैनौँ सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । साथै आइसोलेशन कक्ष र क्वारेन्टाइन धमाधम निर्माण भइरहेका छन् ।
पश्चिममा कैलालीका त्रिनगर, खंक्रौला नाकाका साथै कञ्चनपुरको ग्डडाचौकी, बेलौरी, डडेल्धुराको जोगबुढा, बैतडीको झुलाघाट र दार्चुलामा भारतसित जोडिएका महाकालीका चार पुलबाट आवागमन रोकिएको छ ।
प्रतिक्रिया