बिहीबार, चैत १५, २०८०

आदेश उल्लङ्घन गर्ने १७० सवारीसाधन नियन्त्रणमा

नेपालखोज २०७६ चैत १३ गते ९:०२

दमौली । नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १७० सवारी साधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानबाट उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले लकडाउन उल्लङ्घन गर्ने १०९ मोटरसाइकल, ५५ स्कुटर, दुई ट्रक, एक कार, एक भ्यान, एक ट्र्याक्टर र एक रिक्सा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीप, कास्कीको सिमाना कोत्रेबजार, सदरमुकाम दमौलीलगायत राजमार्ग क्षेत्रका सात स्थानमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारको आदेश नमानी अटेर गरी सवारी साधन सञ्चालन गर्नेलाई साधन नियन्त्रणमा लिई प्रहरी कार्यालयमा राखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया