बुधबार, वैशाख १२, २०८१

विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै

नेपालखोज २०७६ चैत १३ गते ९:११

पाल्पा । कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ ।

रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले तत्कालका लागि २४ श्ययाको क्वारेण्टाइनकक्ष तयार पारिएको नगरप्रमुख रमणबहादुर थापाले बताए ।

बाहिरबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर १४ दिनसम्म क्वारेन्टाइन कक्षमा राखिने उनले बताए । तानसेन नगरपालिका–६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पचास श्ययाको क्यारेन्टाइन कक्ष बनाउँदैछ । तिनाउ गाउँपालिकाले दोभान माविमा १० श्ययाको क्वारेन्टाइन बनाएको छ । विदेशबाट आएका र कोरना भाइरससँग सङ्क्रमित भएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर क्यारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तत्कालका लागि १० श्ययाको क्वारेन्टाइन बनाए पनि यसलाई विस्तार गर्दै जाने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । दोभान प्रहरी चौकीमा बाहिरबाट प्रवेश गर्ने यात्रुहरुको थर्मल स्क्यानर मेसिनद्वारा स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष मगरले जानकारी दिए । रम्भा गाउँपालिकाको रम्भा माविमा ५० श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको छ । विद्यालयमा दुई कोठामा क्वारेन्टाइनको व्यवस्था, शुद्ध खानेपानी, ग्यास तथा खाद्यान्न, लत्ताकपडा, बिजुली जडानको व्यवस्थापन गरेको छ ।

बाहिरबाट गाउँपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच, तीन सामुदायिक स्वास्थ्य केन्द्र भवन, चार स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हातधुने व्यवस्था, स्यानिटाइजर, पञ्जालगायत सामग्रीको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

बगनासकाली गाउँपालिकाको चन्द्र माविमा २०, रिब्दीकोट गाउँपालिकाको सरस्वती माविमा १८, माथागढी गाउँपालिकाको दिपज्योति नमूना माविमा १५ श्ययासहितको क्वारेण्टाइन तयार गरिएको छ ।

प्रतिक्रिया