आइतबार, वैशाख ७, २०८२

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

नेपालखोज २०७६ चैत १३ गते १०:३४

चितवन । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो ।

बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उनले भने, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ । त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया