बिहीबार, माघ २४, २०८१

सामुदायिक विद्यालयमा अस्थायी क्वारेन्टाइन

नेपालखोज २०७६ चैत १४ गते ७:५७

राँझा । कोभिड–१९को सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन तयार गरेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनका रुपमा तयार गरेर कोरोना भाइरसविरुद्धको पूर्वतयारी र सजगता अपनाएका छन् ।

Advertisement

बैजनाथ गाउँपालिकाले आठवटै वडामा क्वारेन्टाइनका रुपमा विद्यालयलाई प्रयोग गर्ने गरी तयारी गरिएको अध्यक्ष मानबहादुर रुचालले बताए । कोरोना भाइरसको सङ्क्रमणको पूर्वतयारीस्वरुप क्वारेन्टाइनका लागि गाउँपालिकाको वडा नं १ देखि ८ मा रहेका विद्यालय प्रयोग गर्ने गरी तयार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार, कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद बिरामी आएमा तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न वडा नं १ को सूर्योदय मावि चिसापानी, २ को जनता आदर्श मावि डिगिया, ३ को सरस्वती मावि बैरहवा र ४ को बिपी मेमोरियल मावि बानियाभारलाई प्रयोग गरिनेछ । त्यसैगरी वडा नं ५ को प्रभात मावि जीगाउँ, ६ को आधारभूत मावि सम्झना, ७ को नेरा मावि पेडारी र वडा नं ८ को स्वास्थ्य चौकी टिटिहिरियामा क्वारेन्टाइन तयार गरिएको गाउँपालिका अध्यक्ष रुचालले जानकारी दिए ।

खजुरा गाउँपालिकाले बजारक्षेत्रमा ज्ञानोदय मावि, सीतापुर र राधापुर क्षेत्रलाई समेट्ने गरी मैटहवा माविमा क्वारेन्टाइन तयार गरिएको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

नरैनापुर गाउँपालिकाले वडा नं ४ खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरिएको अध्यक्ष इश्तियाक अहमद साहले बताए । अहिलेलाई १० श्ययाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकतानुसार अन्य स्थानमा पनि क्वारेन्टाइन बनाउन सकिने उनले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन सञ्चालन गरी शङ्कास्पद बिरामीसमेत राख्न शुरू गरिसकेको छ । कोभिड–१९ सङ्क्रमित किशोरीसँगै हवाईयात्रा गरेका बाँकेका तीनसहित विदेशबाट फर्किएका पाँच गरी आठ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया