सोमबार, चैत १०, २०८१

विदेशबाट घर फर्केकाको तथ्याङ्क सङ्कलन

नेपालखोज २०७६ चैत १४ गते ९:२७

तनहुँ । शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाअन्तर्गत १२ वडामध्ये आठ वडामा घर घरमा पुगी विदेशबाट घर फर्केका व्यक्तिको तथ्याङ्क लिने गरेको छ । बाह्र जनाको टोली घरघरमा खटाएर उनीहरुको तथ्याङ्क लिने कार्य गरिएको हो ।

Advertisement

आठ वडाका ७८ जनाको घरमा पुगी तथ्याङ्क लिइएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। नगरपालिकाका बाँकी रहेका चार वडाको पनि टोली परिचालन गरी विदेशबाट फर्केकाहरुको तथ्याङ्क लिने कार्य गरिने उनले बताए। उनले भने, ‘केही व्यक्ति स्वयं सम्पर्कमा आएका छन् भने कसैको घरमा नै पुगेर तथ्याङ्क लिने कार्य गरिएको छ ।’ उनका अनुसार शुक्लागण्डकी–३ मा रहेका आठ जना स्वयं सम्पर्कमा आएका थिए । नगरपालिकाको सबैभन्दा बढी वडा नं ६ मा २० र वडा नं १० मा १७ जना छन् । त्यसैगरी वडा नं १२ मा सात, वडा नं ८मा ६, वडा नं १ मा ६, वडा नं ९ मा पाँच र वडा नं ४ मा चार जनालगायत विदेशबाट घर फर्किएका नेपालीको खोजी गर्दै कसैलाई स्वास्थ्य केन्द्रमा त कसैलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको नगरपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास स्वास्थ्य केन्द्रमा छ जना र अन्यलाई निगरानीका लागि आआफ्नो घरमा राखिएको छ ।

उनीहरुले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि त्यसको व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । कोरोना सङ्क्रमितको स्वास्थ्य परीक्षणका लागि डा प्रतीक्षा आले र डा इला थापालाई तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।

प्रतिक्रिया