कोभिड १९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
झापा । झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ । जसमध्ये चार आइसीयूमा भर्ना छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन् ।
अस्पतालका निर्देशक बालकुमार पोखरेल व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै चिकित्सक र नर्सहरुले कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको बताउछन् । सय बेडको सो अस्पतालमा १० वटा आइसियु र दुईवटा भेन्टिलेटर रहेको छ ।
“बजारबाट शुरुमै १५ सेतो रेनकोट ल्याएका थियौँ, त्यसैलाई पिपीइ ठानेर काम चलाइरहेका छौँ”, व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव खट्किएको बताउँदै अस्पतालका निर्देशक पोखरेल भन्छन्, “पिपीइ र ग्लोब्स बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन ।” उनले अत्यावश्यक औषधि र सामानको अभावमा निःशुल्क डाइलासिस सेवासमेत प्रभावित हुने समस्या दर्शाएका छन् । अब सातामा दुईपटक डाइलासिस सेवा पाइरहेकालाई एकपटक मु्स्किलले दिन सकिने अवस्था उत्पन्न भएको उनले बताए ।
नेपालमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएपछि झापाका सबै अस्पतालमा रोकथाम र निसङ्क्रमणका लागि सावधानी अपनाउन थालिएको हो । अस्पतालका कर्मचारीले प्रवेशद्वारमै बिरामीको अवस्था र समस्याका बारेमा सामान्य सोधपुछ गर्न थालेका छन् । तर, अस्पतालले इमर्जेन्सी बिरामी भर्ना लिने र उपचार गर्ने क्रम सतर्कतापूर्वक जारी राखेका छन् ।
प्रतिक्रिया