स्वास्थ्य सुरक्षा सामग्री अभाव हुँदा बिरामीको उपचार प्रभावित
सिरहा । सिरहा जिल्लास्थित अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव हुँदा उपचार सेवा प्रभावित भइरहेको छ । जिल्लास्थित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), पञ्जा र मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको अभाव हुँदा बिरामीको उपचार सेवा प्रभावित भइरहेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चिकित्सक, स्वास्थ्यकर्मीले (पिपिई), पञ्जा, नहुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी बिरामीको नजिक जानसमेत डराउने गरेका छन् । सुरक्षा सामग्रीको अभाव भएपछि चिकित्सकले बिरामीलाई नछोएरै टाढैबाट औषधि लेख्ने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा सुनिलकुमार कुशवाहले अस्पतालमा स्वास्थ्यकर्मीले लगाउने कुनै पनि स्वास्थ्य सुरक्षा सामग्री नरहेको बताए ।
उनले भने, “स्वास्थ्यकर्मीले लगाउने पञ्जादेखि पिपिईसम्मका कुनै सामग्री छैनन्, प्रदेश सरकारसँग मागेका छौँ, आउलाकी भन्ने आशा छ ।” अस्पतालमा यसरी स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा सामग्रीका लागि नगरपालिकादेखि प्रदेश सरकारसम्मलाई भने तर आइतबार नेपाली सेनाले दुई थान पिपिई दिएको मेसु डा. कुशवाहको गुनासो छ । लहान अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि पाँच शै्ययाको आइसोलेशन कक्षसमेत तयार पारिएको छ ।
प्रतिक्रिया