सोमबार, फागुन ५, २०८१

लकडाउन : मजदुरको छाक टार्न घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक

नेपालखोज २०७६ चैत २१ गते ७:३९

कैलाली । धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिएको युवा समाजसेवी मदन भट्टले बताए ।

Advertisement

लकडाउनमा आय आर्जनको बाटो बन्द हुँदा असहाय, गरीबलाई रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर फुडबंैक स्थापना गरिएको स्थानीय युवा समूहले जनाएको छ । युवा समूहले उपमहानगरपालिका–३ को मसानटोलका दैनिक काम गरेर घर खर्च चलाउने विपन्न ९४ परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ ।

उपमहानगरपालिकाद्वारा लकडाउनका कारण छाक टार्न समस्या भएका करिब २०० परिवारलाई राहतस्वरुपको खाद्यान्न वितरण गरिएको छ । नगरप्रमुख नृपबहादुर वडका अनुसार राहत वितरणका लागि प्रत्येक वडामा अध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरी लकडाउनले छाक टार्न समस्या भएकाको विवरण सङ्कलन गरिएको थियो । उक्त समितिले सङ्कलन गरेको विवरणका आधारमा राहत वितरण शुरु गरिएको हो ।

वडा नं ८ र ५ मा बिहीबार बिहानैदेखि राहत वितरण गरिएको थियो । अन्य वडामा पनि वितरणका लागि खाद्यान्न पु¥याउने काम भइरहेको बताइएको छ । धनगढी–८ का अध्यक्ष नारायणप्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका करिब दुई सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको जानकारी दिए । त्यस्तै वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरासिंह पातलीले बताए ।

प्रतिक्रिया