शनिबार, वैशाख २९, २०८१

जिल्लाभर ६२९ क्वारेन्टाइन

नेपालखोज २०७६ चैत २१ गते १३:३०

मान्मा । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न कालिकोटका नौ वटा स्थानीय तहले ६१९ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन् । भारतबाट आएका वा अन्य शंकास्पदलाई राख्न क्वारेन्टाइन निर्माण गरेका हुन् ।

जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकाले ७४, रास्कोट नगरपालिकाले १००, सान्नी त्रिवेणीले ६५, पचालझरनाले ४९, नरहरिनाथले ५०, शुभकालिका गाउँपालिकाले ४०, महाबैले ४१ र तिलागुफा नगरपालिकाले २० वटा क्वारेन्टाइन निर्माण गरेका छन् ।

चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका ९, पचालझरनाका ७ र पलाँता गाउँपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कोरोनाको शंकास्पद लक्षण देखिएका बिरामीलाई राख्न कालिकोट अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ ।

जिल्लाभर भारतबाट फर्किनेको सङ्ख्या २३७ जना रहेको कालिकोट प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो । सान्नीत्रिवेणी गाउँपालिकाले भारतबाट फर्किएका १८ जनालाई बिहीबारदेखि लुयाटास्थित विद्याज्योतिमा माविमा, १४ जनालाई डाँडाखेतस्थित कालिका माविमा र ७ जनालाई मुम्रास्थित डाँफे माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

प्रतिक्रिया