सोमबार, माघ २८, २०८१

अधिकांश औषधि पसल बन्दः घण्टौँ हिँडेर औषधि किन्न बाध्य

नेपालखोज २०७६ चैत २२ गते ८:३४

जाजरकोट । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामी आउने डरले यहाँका अधिकांश औषधि पसल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने गरी बन्द गरेका हुन् । अरु समयमा बिरामीको जाँचसम्म गर्न भ्याइने यहाँका औषधि पसल सञ्चालकले लकडाउन भएको मितिदेखि नै पसल बन्द गरेका छन् । जिल्लाका सात स्थानीय तहमा झण्डै ३०० भन्दा बढी औषधि पसल बन्द हुँदा सर्वसाधारण सामान्य औषधिसमेत स्वास्थ्य संस्थामा गएर लिन बाध्य भएका छन् । अनुमतिबिना नै खुलेआम सञ्चालन भइरहेका मेडिकल बन्द हुँदा सर्वसाधारण घण्टौँ हिँडेर औषधि किन्न बाध्य छन् ।

जिल्लामा छेडागाड नगरपालिकाको थलहमा रहेको डेभिड मेडिकल सेन्टरबाहेक सबै बन्द छन् । कोरोना सङ्क्रमणको डरले अन्य सबै मेडिकल बन्द गरिएको डेभिड मेडिकलका सञ्चालक अर्जुन अधिकारीले बताए। बिरामी तथा औषधि बिक्रीमा चौबीसै घण्टा खटिनुपर्ने निजी मेडिकल पसल कोरोना भाइरस सङ्क्रमणको डरले बन्द गरी बसेपछि जिल्लाका ग्रामीण भेगका बासिन्दाको उपचार सेवा प्रभावित भएको देखिन्छ ।

लकडाउनको अवधिमा पनि सेवा दिनुपर्ने मेडिकलवाला नै बन्द गरेर घरतिर लागेपछि सामान्य रोगको समेत उपचार पाउन नसकेको स्थानीयवासीको गुनासो छ । गाउँमा रहेका मेडिकल बन्द भएपछि उपचारमा समस्या भएको भेरी नगरपालिका–३ का भीम खत्रीले बताए । “सङ्कटको बेला सेवा नदिई बन्द गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ”, उनले भने, “अन्य समयमा डाक्टर ल्याएर महङ्गो शुल्कमा क्लिनिक चलाउने उनीहरूले अहिले पसल बन्द गरेर उपभोक्ता हितविपरीत काम गरेको छ ।”

सरकारी स्वास्थ्य संस्थाले पनि सामान्य अवस्थामा अस्पताल नआउनु भनेर सूचना नै जारी गरेका छन् । यसरी निजी मेडिकल बन्द भएका र सरकारी स्वास्थ्य संस्थाले पनि अन्य रोगको उपचार नगर्ने भएपछि स्थानीयवासी समस्यामा परेका छन् । कोरोना भाइरसका बिरामीको उपचारका लागि व्यक्तिगत सुरक्षा सामग्री नभए र सङ्क्रमित आए आफैँ जोखिममा पर्ने भएकाले मेडिकल नै बन्द गर्नुपरेको भेरी नगरपालिका रिम्नामा मेडिकल सञ्चालन गरिरहेका एक स्वास्थ्यकर्मीले बताए । मेडिकलमा पर्याप्त औषधि नभएको र लकडाउनका कारण थप औषधि ल्याउन नसकिएकाले मेडिकल नै बन्द गर्नुपरेको मेडिकल सञ्चालकको गुनासो छ ।

प्रतिक्रिया