थप तीन जनामा कोरोना संक्रमण पुष्टी : स्थानीय तहमा पहिलो पटक संक्रमण
कैलाली । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।
योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए ।
तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीका अनुसार ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।’
‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’
कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताए ।
यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए ।
प्रतिक्रिया