शुक्रबार, वैशाख १४, २०८१

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

नेपालखोज २०७६ चैत २४ गते ८:३५

भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।

कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन् ।

भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ । चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भयो ।

सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शङ्का लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको सङ्ख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।

त्यसैगरी भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका । चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए । कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिम सङ्क्रमणको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि प्रयासरत रहेको बताए । “सङ्ख्यात्मकरूपमा सङ्क्रमित बढी देखिएकाले पनि यसको जोखिम बढेर आयो”, उनले भने, “धनगढीमा महिलामाथि स्थानीय सङ्क्रमण देखिनुलाई झन जोखिम मानिएको छ ।” उनले ती महिलामा दोस्रो चरणको सङ्क्रमण देखिएको बताए ।

प्रतिक्रिया