शनिबार, वैशाख २९, २०८१

अष्ट्रेलियामा रहेका नेपालीप्रति सरकारको कूटनीतिक चासो

नेपालखोज २०७६ चैत २४ गते १५:५१

काठमाण्डौ । अष्ट्रेलियामा अस्थायी भिसा लिएर बसेका नेपालीहरु तथा विद्यार्थीहरुलाई आफ्नो देश फर्किन सक्ने भनी त्यहाँको सरकारले बताएपछि नेपालले कुटनीतिक रुपमा चासो देखाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अष्ट्रेलिया सरकारले आफ्ना देशमा रहेका स्थायी रुपमा बसोबास गर्ने बाहेकलाई विशेष सहयोग गर्न नसक्ने बताएपछि अहिले अष्ट्रेलियामा रहेका नेपाली तथा विद्यार्थीहरुलाई चिन्ता थपिएको छ ।

यस बिषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफ्ना अस्ट्रेलियन समकक्षी परराष्ट्र मन्त्री मरिस पेनसँग टेलिफोनमा वार्ता गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थीहरुसहित नागरिकहरुलाई संरक्षण र सुरक्षा दिन आग्रह गरेका छन् ।

चार दिनअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यदि अस्थायी भिसाबाहेकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था नभए घर फर्कन सुझाव दिएका थिए। उनले भनेका थिए,‘हामी अहिलेको अवस्थामा विद्यार्थीलाई उल्लेख सहयोग गर्न असमर्थ छौं। त्यसैले आफ्नो देशमा सहज महसुस हुने विद्यार्थी र अस्थायी भिसामा रहेकाहरु फर्किन चाहन्छन् भने फर्किन सक्छन्,’ प्रधानमन्त्री मरिसनले भनेका थिए।

मरिसनको उक्त भनाइ बाहिर आएसँगै भइरहेको अन्योलतालाई चिर्न नेपाल सरकारले परराष्ट्र मन्त्री ज्ञवालीमार्फत अस्ट्रेलियन सरकारसँग त्यहाँ अध्ययरत हजारौं विद्यार्थी र नागरिकहरुको बारेमा चासो व्यक्त गरेको हो।

प्रतिक्रिया