लकडाउनले दुग्ध क्षेत्रमा ठूलो घाटा, ७५ प्रतिशत दूध खेर !
काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस)का कारण गरिएको लकडाउनले गर्दा दुग्ध क्षेत्रलाई निकै प्रभावित पारेको छ ।
लकडाउनका कारण ३० प्रतिशत दूध मात्र बजारमा जान्छ । अरू बाँकी ७५ प्रतिशतले दूधलाई फ्यालिन्छ कि गाईगोरुलाई खुवाउँछन् या पनिर, दही बनाएर राख्छन् । दूधको मुख्य बजार नै काठमाडौँ उपत्यका हो । लकडाउनका कारण झन्डै तीन लाखभन्दा बढी मानिस काठमाडौँ उपत्यका छाडिसकेका छन् ।
होटल, रेस्टुरेन्ट सबै बन्द छन् । त्यसले गर्दा दूधको खपत ह्वात्तै घटेको डेरी उद्योगी एवं डेरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले बताउनुभयो । पनिर, दही पनि कति बनाउनु, त्यो पनि समयमा बिक्री नहुँदा बिग्रिन्छ, उहाँले भन्नुभयो, अहिले हामीले किसानबाट ५० प्रतिशत दूध मात्र लिन्छौँ, अरू बाँकी ५० प्रतिशत दूध किसानले आफैँ व्यवस्थापन गरेका छन् ।
एक त चैत लागेपछि दूध पनि कम उत्पादन हुन्छ । यतिबेला दूधको हाहाकार हुने समय हो तर अहिले उत्पादन भएको दूध पनि बिक्री नहुँदा किसान त्यही दूध गाईगोरुलाई खुवाउन थालेका छन् । अहिले गाईगोरु, भैँसीलाई खुवाउने दाना, चोकर, नपाएपछि बाध्य भएर दूध नै खुवाउन थालेको अध्यक्ष भण्डारीले बताउनुभयो । केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले दूध बिक्री नहुँदा देशभरिका किसानले तीन लाख लिटर दूध गाईबस्तुलाई खुवाउने गरेको बताउनुभयो ।
उहाँले लकडाउनका बहाना बनाएर डेरी उद्योगीले दूध किन्न छाडेको आरोप लगाउनुभयो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले आफूहरू सकेसम्म किसानबाट दूध किन्ने गरेको बजारमा बिक्री नहुँदा भण्डार गर्ने क्षमता पनि नरहेको दाबी गर्नुभयो । दूधको पाउडर बनाउने मिल सञ्चालन हुने तयारी भइरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया