जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था
काठमाडौँ । जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेका छन् । “जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु । म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु,” आबेले भनेका छन् ।
“विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा” नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए ।
यो घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् ।
तर यो युरोप र संयुक्तराज्य अमेरिकाका कतिपय क्षेत्रमा देखा पर्ने लकडाउन जस्तो कडा प्रतिबन्ध होइन । जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन् । यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन ।
विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए । यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए ।
प्रतिक्रिया