कोरोना संक्रमणको उच्च जोखिम जिल्लामा र्यापिड किटमार्फत शीघ्र परीक्षण गरिने
काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको उच्च जोखिम भएका जिल्लामा र्यापिड किटमार्फत शीघ्र परीक्षण गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘आरडिटी’ पद्धतिमार्फत शीघ्र परीक्षण गर्ने निर्णय गरेको हो ।
त्यसबाट रिपोर्ट पोजेटिभ देखिए पिसिआर मेसिनबाट पुनः परीक्षण गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्ला डोटी, अछाम, जुम्लालगायतमा पनि परीक्षण सघन रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरूको विषयमा समेत समीक्षा भएको थियो । लकडाउन उल्लंघन गर्ने दुई हजार ६ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरी सम्झाएर छाडिएको तथा दुई हजार दुई सय ३५ सवारीसाधनसमेत कारबाहीमा परेको बताइएको छ ।
प्रतिक्रिया