राहत सामग्रीमा घोटाला गरेको आरोपमा एक पक्राउ
जनकपुर । राहत सामग्रीको खरिदमा घोटाला गरेको आरोपमा धनुषामा एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार महेन्द्रनगरस्थित अमृता जेनरल सप्लायर्सका सञ्चालक वीरेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
राहत सामग्रीको तौलमा घटाएर बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकका अनुसार महेन्द्रनगरस्थित अमृता जेनरल सप्लायर्सले विभिन्न नगरपालिकाका लागि खाद्यान्न आपूर्ति गर्ने क्रममा तोकिएको तौलमा घटाएर सामान प्याकिङ गरी आपूर्ति गर्दै आएको थियो ।
विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीको प्रभावलाई नियन्त्रण गर्न सरकारले विगत दुई सातादेखि जारी राखेको लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदूर, विपन्न, गरिब र दलित समुदायका लागि स्थानीय तहहरुले राहत स्वरुप उपलब्ध गराउने खाद्यान्न आपूर्तिको जिम्मेवारी लिएका साहले कम तौलका सामान दिएको उजुरीका आधारमा प्रहरीले आज पसलमा छापा मारेर उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए।
प्रतिक्रिया