लकडाउनमा सडक पूर्वाधारको काम धममाधम, थानकोट-नैबिसे सडकको पनि स्तरोन्नती गरिने
काठमाडौं । कोरोना भाइरसविरुद्ध मुलुकले ‘लकडाउन’ गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् ।
विशेषगरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ । सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै थानकोट–नैबिसेलगायत सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने सडकहरूको कालोपत्रेमाथि कालोपत्रे (ओभर–ले) गरिने भएको छ ।
उनले भने, ‘उक्त सडक खण्डको ‘ओभर–ले’ तथा स्तरोन्नति गर्नका लागि निर्माण कम्पनीलाई कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै काम अगाडि बढाउन भनिएको छ ।’
यस कार्यमा सहजीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई समेत अनुरोध गरिएको उनले बताए । स्तरोन्नतिका लागि भने सडकको चौडाइमा समेत सुधार गरिनेछ । अहिलेको अवस्थामा काम अगाडि बढाउन स्थानीयको समेत सहमति आवश्यक रहेको र त्यसका लागि अन्य संयोजन पनि मिलाउनुपर्ने उनले बताए ।
काठमाडौँ–हेटौँडा जोडिने कान्ति लोकपथको कामलाई अगाडि बढाइए पनि स्थानीयको अवरोधका कारण बुधबारदेखि काम रोकिएको जानकारीसमेत महानिर्देशक शर्माले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया