बिहीबार, वैशाख १३, २०८१

आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

नेपालखोज २०७६ चैत २७ गते १३:२९

जुम्ला । चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् । कोभिड–१९ मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताए ।
लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ । यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन ।
जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन् । भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ । अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिसकेको छैन । भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका ३२४ जनाको मंगलबार कोभिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

प्रतिक्रिया